Tuesday, April 24, 2018

जनताको बहुदलीय जनवाद 'जबज' भनेको के हो ?

विशिष्ट अवस्थामा माक्र्सवादको सृजनात्मक प्रयोग नै जनताको बहुदलीय जनवाद हो । जबजको सैद्धान्तिक आधार नै माक्र्सवाद र लेनिनवाद हो । देशको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेको राजनीतिक कार्यक्रम नै जनताको बहुदलीय जनवाद हो । अहिले यो पार्टीको देशको सर्वोच्च पददेखि मह¤वपूर्ण स्थानमा हालीमुहाली छ । हुन त, जबजले भनेजस्तो सत्ता प्राप्ति त भएको छैन, तर पनि मह¤वपूर्ण स्थानमा पुगेर हिजो जसरी प्रशिक्षित गराउने काम गरिन्थ्यो, सोअनुसार जबजको बाटोमा हिँडिरहेको छ÷छैन, अब आमकार्यकर्ताले चासो राख्नुपर्ने देखिन्छ ।
जबज उत्पत्ति हुँदाको देशको राजनीतिक परिस्थिति र अहिलेको राजनीतिक परिस्थिति फरक छ । जबज एक राजनीतिक चरण पार गरी अर्को राजनीतिक चरणमा प्रवेश गर्दा यसका राजनीतिक मान्यताहरु सकिएका हुन् वा देशमा राजनीतिक क्रान्ति सफल भएको अवस्थामा अबको आर्थिक क्रान्तिको चरणमा प्रवेश गर्दा जबजले के भन्छ र जबजमा लेखिएको जस्तो अबको निसाना भनेको सामन्तहरुका र पुँजीपतिका सम्पत्ति खोसेर गरिब किसानलाई बाँड्ने बेला आएको छ कि छैन ? आदि कुराहरु बुझ्नु जरूरी छ । कम्युनिस्टहरु भनेका एकदलीय निरंकुश र लोकतान्त्रिक हुँदैनन् भन्ने विगतमा जुन मान्यता थियो, त्यसको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको २००६ सालदेखि २०४७ र ०४८ सालको आन्दोलनसम्मको अनुभव र मान्यताका आधारमा विशिष्ट अवस्थामा जबज प्रतिपादन गरिएको राजनीतिक कार्यक्रम हो ।
जबज कम्युनिस्ट विचारधाराबाहेककालाई पनि राजनीतिक दल खोल्न, सभा–सम्मेलन गर्न पाउने, बोल्ने, लेख्ने, छाप्ने स्वतन्त्रताको पूर्ण ग्यारेन्टी दिने विभेदकारी नीति पूर्ण रुपमा बन्देज गर्ने भनी मदनकुमार भण्डारीले नेपालको विशिष्ट परिस्थितिमा प्रतिपादन गरेको माक्र्सवादको सृजनात्मक प्रयोग रहेको सिद्धान्त हो । जबजका सैद्धान्तिक आधार भनेको नै माक्र्सवाद, लेनिनवाद हो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भैसकेपछिको नेपालको लोकतान्त्रिक आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अनुभवका आधारमा विकास भएको हो । सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादविरूद्ध गर्ने सशक्त कार्यक्रम नै जनवादी कार्यक्रम हो ।
जनताको बहुदलीय जनवादका आफ्नै मान्यताहरु छन् । जस्तो जनवादी राज्यसत्ता प्राप्त गर्नु, स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष, जनवादी गणतन्त्र घोषणा गर्ने, मानव अधिकार र मौलिक हक÷अधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार र अल्पमतको विपक्षी आदि जबजका राजनीतिक मान्यताभित्र पर्छन् । साथै, सबै खालका पुँजीवाद, सामन्तवाद वैदेशिक एकाधिकार, पुँजीवाद, शोषण, उत्पीडन र प्रभुत्ववादका सबै खाले स्वामित्वहरु अन्त्य गर्नु, क्रान्तिकारी भूमिसुधार लागू गर्नु, सामन्तहरुका हदभन्दा बढी जमिन विनामुआब्जा जफत गरी गरिब किसानहरुलाई वितरण गर्नु र जनवादी अर्थ व्यवस्था लागू गर्नु जबजका आर्थिक पक्षहरु हुन् । जाति, भाषा र धर्मका आधारमा हुने भेदभावलाई अन्त्य गरी एकाधिकार हुन नदिने, धार्मिक स्वतन्त्रता, समानता, महिला र पुरूषबीचको समानता, समान ज्यालाको व्यवस्था लागू गर्ने । जातपात र छुवाछूतको प्रथालाई अन्त्य गर्ने । आधुनिक र प्रगतिशील गुणात्मक शिक्षा लागू गर्ने । आफ्नै देशको विशिष्टताको आधारमा साम्राज्यवाद र विस्तारवादको विरोध गरी सन्तुलित विदेश नीति लागू गर्ने आदि आदि जबजका गुणात्मक पक्षहरु हुन् ।
जतिबेला विश्व कम्युनिस्ट आन्दोलन धरापमा पर्दै थियो, त्यति नै बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा कम्युनिस्टहरु पनि समय र परिस्थितिमा परिवर्तन हुँदै जान सक्छन् भन्ने मान्यता राखेर जबजको सिद्धान्त अगाडि ल्याइएको हो । त्यसबेला अन्तर्राष्ट्रियस्तरमा त यसले एक खालको तरंग नै मच्चाएकै हो र नेपालमा कार्लमाक्र्स जीवितै छन् भनेर अन्तर्राष्ट्रिय समाचार माध्यमबाट थाहा पाइएकै हो । जतिबेला जबजको अवधारणा बाहिर आयो, त्यतिबेलाको राष्ट्रिय राजनीतिक परिस्थितिमा रहेर विकास गरिएको हो । तर, आज त्यो राजनीतिक परिस्थिति छैन । एक किसिमले भन्ने हो भने राजनीतिक क्रान्ति सम्पन्न भएको छ र अब राष्ट्रमा आर्थिक क्रान्ति गर्नु जरूरी छ । विशिष्ट अवस्थामा उत्पत्ति भएको जबजलाई अहिलेको देशको राजनीतिक विशिष्टताका आधारमा परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ ।
समग्रमा भन्नुपर्दा कार्ल माक्र्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र प्रतिपादन गरी विश्वभरि फैलाए । लेनिनले घोषणापत्रको सिद्धान्तलाई अनुसरण गर्दै क्रान्तिको आफ्नै किसिमको सिद्धान्त बनाई क्रान्ति गरी सफल पनि भए । र, माओत्सेतुङले आफ्नो देश सुहाउँदो जनवादी क्रान्ति गरे । कम्युनिस्टहरुका ठूला–ठूला क्रान्ति सफल त भए, तर क्रान्तिको बेला देशले ठूलो क्षति पनि व्योहोर्नु परेको छ । विश्व कम्युनिस्ट आन्दोलनलाई अध्ययन गर्दै शान्तिपूर्ण आन्दोलनबाट पनि सत्ता कब्जा गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेर जनताको बहुदलीय जनवाद सिद्धान्त जननेता मदनकुमार भण्डारीले प्रतिपादन गरे । यो सिद्धान्त अहिले नेपाल कम्युनिस्ट पार्टी एमालेको मार्गदर्शक सिद्धान्त हो र सफल हुँदै गैराखेको अवस्था पनि छ ।

No comments:

Post a Comment